×
उत्पादन गुणस्तर नभएको भन्दै , तीन सिमेन्ट उद्योगको उत्पादन तथा विक्रीमा रोक



नेपाल गुणस्तर तथा नापतौल विभागले विभिन्न तीन सिमेन्ट उद्योगको उत्पादन तथा विक्रीवितरणमा रोक लगाएको छ ।

विभागले बजार अनुगमनका क्रममा उत्पादन गुणस्तर नभएको भन्दै मारूती, युनाइटेड र जगदम्बा सिमेन्टको ओपीसी सिमेन्ट विक्रीवितरणमा रोक लगाएको हो ।

विभागले मारूती र युनाइटेड सिमेन्टको ओपीसी सिमेन्ट र जगदम्बाको पीपीसी सिमेन्ट विक्रीवितरणमा रोक लगाएको जानकारी दिएको छ । विभागले प्रेस विज्ञप्ति जारी गर्दै सिरहास्थित मारूती सिमेन्टको ओपीसी ४३ ग्रेडको (नेपाल गुणस्तर ५७२)को संकलित नमूनाको बलियोपना तोकिएको गुणस्तरअनुसार नभएको भन्दै विक्रीमा रोक लगाएको हो ।

ओपीसी ४३ ग्रेडको उत्पादित सिमेन्टको बलियोपन ७ र २८ दिनको मान न्यूनतम ३३ र ४३ हुनुपर्नेमा मारूती सिमेन्टको यस्तो मान ३१ र ३७ रहेको भेटिएको छ ।विभागले गरेको बजार अनुगमनका क्रममा सिमेन्टको गुणस्तरअनुसार उत्पादन नभएको भन्दै उक्त उद्योगको ४३ ग्रेडको ओपीसी सिमेन्ट विक्रीमा रोक लगाएको छ ।

विभागले बजारमा गएको उक्त उत्पादन फिर्ता लिन र १५ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ । यसैगरी धादिङस्थित युनाइटेडको ५३ ग्रेडको ओपीसी सिमेन्टमा पनि हुनुपर्ने मान नभएको भेटिएको छ । सिमेन्टको संकलित नमूनाको बलियोपन ७ र २८ दिनको मान क्रमशः ३५ र ३९ भेटिएको छ । यसको मान भने न्यूनतम ३७ र ५३ हुनुपर्छ ।

विभागले सो उद्योगलाई पनि १५ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ, भने बजारमा गएका ती उत्पादन फिर्ता लिन पनि भनेकोे छ ।

यसैगरी रूपन्देहीको जगदम्बा सिमेन्टको पीपीसी सिमेन्टको संकलित नमूनामा पनि गुणस्तर तोकिएअनुसार नभएको विभागले उल्लेख गरेको छ । नेपाल गुणस्तर ३८५ अनुसार पीपीसी सिमेन्टको मान क्रमशः १६ र २२ हुनुपर्नेमा उक्त उद्योगबाट उत्पादन भएको सिमेन्टको यस्तो बलियोपनको मान भने क्रमशः १५ र २० रहेको छ ।

विभागले जगदम्बालाई पनि १५ दिनभित्र स्पष्टीकरण दिन भन्दै पत्र काटेको छ भने पीपीसी सिमेन्ट विक्रीमा रोक लगाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस