×
एकै पटक ६ ओटा कम्पनीले पाए आईपीओ निष्कासन गर्ने अनुमति , कहिले होला निष्कासन ?



नेपाल धितोपत्र बोर्ड (सेवोन) ले ५ महीनापछि एकै पटक ६ ओटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ ।

गत साउन १४ गते बुद्धभुमि नेपाल हाइड्रोपावरलाई आईपीओ निष्कासन गर्न अनुमति दिएपछि रोकिएको आईपीओ स्वीकृतिको प्रकृयाले निरन्तरता पाएको हो । बोर्डले माघ ९ गते बलेफी हाइड्रोपावर, ग्रीन भेन्चरस् लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपाललाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।

बलेफी हाईड्रोपावर लिमिटेडले प्रति शेयर रु.१००(अंकित दरको ३६,५५,९४० कित्ता साधारण शेयर ( स्थानीय बासिन्दा समेत ) सर्वसाधारणहरुमा निश्कासन गर्ने भएको छ । कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमीटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। कम्पनीले निश्कासन गर्न लागेको आइपीओलाई इक्रा नेपालले आइपीओ ग्रेड फोर प्लसको रेटिङ दिएको छ ।कम्पनीले उक्त शेयर निष्कासन गर्न बोर्डमा २०७७ साल फागुन २५ गते निवेदन दर्ता गराएको थियो ।

ग्रीन भेन्टर हाइड्रोपावर कम्पनीले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार आइपीओ निष्काशन गर्ने भएको हो । कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापीटल रहेको छ । आयोजनामा व्यवसायिक प्रतिष्ठान त्रिवेणी ग्रुप र विशाल ग्रुपको लगानी छ । आयोजनामा नबिल बैंकको अगुवाईमा ७ वटा बैंकहरुले ७ अर्ब ६२ करोड रुपैयाँ लगानी गरेका छन् । आईपीओ निष्कासनका लागि २०७७ साल फागुन २८ गते बोर्डमा निवेदन दिएको थियो ।

नेष्डो लघुवित्त वित्तीय संस्थाले  सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । लघुवित्त ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता शेयर निष्काशन गर्न अनुमति माग्दै बोर्ड पुगेको हो । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोवल आइएमई क्यापिटल रहेको छ ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई आईपीओ जारी गर्ने भएको छ। संस्थाको हाल १० करोड ७८ लाख चुक्ता पुँजी रहेकोमा थप ५ लाख २२ हजार कित्ता सर्वसाधारणलाई साधारण सेयर निष्कासन गरेपश्चात चुक्ता पुँजी १६ करोड रुपैयाँ हुनेछ ।  संस्थाले आईपीओ निष्काशनका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। संस्थाले ८ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको तयारी गरेको हो। संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ८ लाख ५० हजार कित्ता आईपीओ जारी गर्नेछ। एनआईबिएल एस क्यापिटललाई सार्वजनिक निष्काशन गर्नका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

 इमर्जिंग नेपाल लिमीटडले ५ करोड बराबरको आइपीओ जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ५ लाख कित्ता साधारण सेयरको प्राथमिक निश्कासन गर्ने भएको हो । निश्कासित हुने ५ लाख कित्ता सेयर कम्पनीका कर्मचारी र सर्वसाधारणका लागि हो  कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइसी एशिया क्यापिटल लिमीटेडले गर्नेछ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस