सन् १८१६ को सुगौली सन्धिको सक्कल प्रति हालसम्म फेला नपरेको विषयले प्रतिनिधिसभा बैठकमा प्रवेश पाएपछि भारतको विदेश मन्त्रालयले यसमा प्रतिक्रिया जनाएको छ।
नयाँ दिल्लीले द्विपक्षीय सम्बन्धलाई सुदृढ र सहकार्यपूर्ण बताउँदै यस विषयलाई कूटनीतिक संयन्त्रमार्फत समाधान गर्न सकिने बताएको छ। मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवाललाई सञ्चारकर्मीहरूले सुगौली सन्धिको सक्कल प्रतिबारे प्रश्न सोधेका थिए। यसको जवाफमा प्रवक्ता जायसवालले भने, ‘भारत र नेपालबीचको सम्बन्ध अत्यन्तै राम्रो छ। कतिपय विषयहरूमा दुई देशबीच असहमति वा मतभिन्नता हुन सक्छ, तर त्यस्ता मुद्दाहरू सम्बोधन गर्नका लागि हामीसँग द्विपक्षीय संयन्त्रहरू छन्। हामी त्यहीमार्फत छलफल र कुराकानी गर्न सक्छौं।’
नेपाल र तत्कालीन अंग्रेज सरकारबीच युद्ध अन्त्य गर्न सन् १८१६ मा सुगौली सन्धि भएको थियो, जसले नेपालको पश्चिम र दक्षिणतर्फको अन्तर्राष्ट्रिय सीमा निर्धारण गरेको थियो। यसै सन्धि लगायतका ऐतिहासिक प्रमाणका आधारमा नेपालले २०७७ सालमा लिम्पियाधुरासहितको भूभाग समेटेर नयाँ नक्सा जारी गरेको थियो। सन्धिमा काली नदीपूर्वका भूभागहरू नेपालको भूभाग भएको स्पष्ट उल्लेख छ।
सोही पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता जायसवालले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूतबीच भएको भेटवार्ताका बारेमा पनि आफ्नो धारणा राखेका थिए। यस भेटमा द्विपक्षीय मुद्दाहरूमा प्रकाश पार्ने गरी कुराकानी भएको उनले बताए।
पत्रकारहरूले सोधेको अर्को प्रश्नको जवाफमा जायसवालले काठमाडौंका प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो दिइएको जानकारी दिए। उनले भने प्रधानमन्त्रीले पदभार ग्रहण गरेकै समयमा हाम्रा प्रधानमन्त्रीले निमन्त्रणा पठाइसक्नुभएको हो। यस विषयमा विशेष जानकारी प्राप्त भएमा म बताउनेछु।’














