लामो समयदेखि घाटामा रहेको दुग्ध विकास संस्थान (डिडिसी) पछिल्लो समय खर्च कटौती, व्यवस्थापन सुधार र बिक्री वृद्धिसँगै नाफामा जान थालेको छ। प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत डिडिसीसम्बन्धी तथ्याङ्क सार्वजनिक गरेपछि संस्थानको आर्थिक अवस्थाप्रति चासो बढेको छ। डिडिसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेका अनुसार हाल दैनिक करिब ६१ हजार लिटर दूध संकलन भइरहेको छ भने बिक्री ८० हजार लिटर पुगेको छ। बाँकी करिब १९ हजार लिटर विगतको मौज्दातबाट बजारमा पठाइएको हो।
डिडिसीले तीन प्रतिशत फ्याट भएको दूध दैनिक औसत ७३ हजार लिटर र पाँच प्रतिशत फ्याट भएको दूध सात हजार लिटर बिक्री गर्दै आएको छ। तीन प्रतिशत फ्याटको दूधमा प्रतिलिटर करिब १० रुपैयाँ र पाँच प्रतिशत फ्याटको दूधमा प्रतिलिटर करिब २३ रुपैयाँ नाफा हुने संस्थानको हिसाब छ। यस आधारमा दूध बिक्रीबाट मात्रै डिडिसीले दैनिक करिब ८ लाख ९१ हजार रुपैयाँ प्रारम्भिक नाफा आर्जन गरिरहेको छ। बटर, घिउ, दही, आइसक्रिम, मोहीलगायत अन्य उत्पादनबाट हुने आम्दानी भने यसमा समावेश गरिएको छैन।
नयाँ व्यवस्थापन आउँदा डिडिसीसँग करिब ६०० टन पाउडर दूध र ४५० टन बटर मौज्दात रहेकामा अहिले क्रमशः १४० टन र १३५ टनमा झरेको छ। मौज्दात सामग्रीको बिक्री बढाउनुका साथै अनावश्यक खर्च र कर्मचारी सुविधामा कटौती गरिएको संस्थानले जनाएको छ। यही अवधिमा डिडिसीले किसानलाई करिब ६० करोड रुपैयाँ भुक्तानी गर्नुका साथै तीन करोड रुपैयाँ पुरानो ऋणसमेत तिरेको छ। किसानको बक्यौता पनि आठ महिनाबाट घटेर करिब दुईदेखि तीन महिनामा झरेको छ।
असार मसान्तसम्म दैनिक ६०–६२ हजार लिटर दूध बिक्री गर्दै आएको डिडिसीले साउन पहिलो सातादेखि औसत बिक्री ८० हजार लिटर पुर्याएको जनाएको छ। यससँगै दैनिक बिक्री आम्दानी करिब ६० लाख रुपैयाँबाट बढेर ९० लाख रुपैयाँ पुगेको छ। संस्थानका अनुसार बिक्रीबाट थपिएको रकम किसानको बाँकी भुक्तानी घटाउन प्रयोग भइरहेको छ।













