नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रमुख राजनीतिक दलहरूले आफ्ना कमी–कमजोरी सच्याएर अघि बढ्नु नै नेपालको राजनीतिक भविष्यका लागि सुरक्षित बाटो भएको बताएका छन्। शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टी र आन्दोलन कमजोर हुनुका कारणहरूको पहिचान र सम्बोधन नै अहिलेको मुख्य सांगठनिक कार्यभार भएको औंल्याए।
नेकपा (एमाले) तारकेश्वर नगर कमिटीद्वारा आयोजित ‘मिसन पार्टी जागरण २०८३’ तथा पुष्पलाल स्मृति दिवसको अवसरमा बोल्दै महासचिव पोखरेलले पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा एकतावद्ध बनाउन शुद्धीकरण, सुदृढीकरण र रूपान्तरण अनिवार्य रहेकोमा जोड दिए। उनले भने, “आज तपाईंहरू पार्टी निर्माण, संगठनका चुनौती र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरिरहनुभएको छ। स्वाभाविक रूपमा, हाम्रो पार्टी र आन्दोलन कमजोर हुनुका कारणहरू पहिचान गरी तिनको सम्बोधन गर्नु नै अहिलेको पार्टी निर्माण र संगठन सुदृढीकरणको मुख्य विषय हो।”
कार्यकर्ता पलायनप्रति चिन्ता व्यक्त गर्दै उनले निर्वाचनमा पार्टीले सोचेजस्तो परिणाम ल्याउन नसके पनि जनताको मनोविज्ञान र भावना बुझेर अघि बढेमा एमालेले नै वर्तमान चुनौतीहरूको सामना गर्न सक्ने दाबी गरे। “कार्यकर्ता पलायन भइसकेपछि भोलि पार्टी नयाँ ढंगले अघि बढ्दा उनीहरूलाई फर्काउन गाह्रो हुन्छ,” उनले भने, “हामीले चुनाव हारेका छौँ, तर जनताको मनोविज्ञान र भावनालाई बुझेर अघि बढ्ने संकल्प गर्ने हो भने आजका चुनौती सामना गर्ने सामर्थ्य यही पार्टीसँग छ। राष्ट्रका समस्याहरू समाधान गर्ने क्षमता यही पार्टीबाहेक अरू कुनै पार्टीसँग छ भन्ने मलाई लाग्दैन।”
‘देखाइदिऊँ’ भन्ने प्रवृत्तिको परिणाम अहिले भोगिरहेको उल्लेख गर्दै पोखरेलले प्रमुख राजनीतिक दलहरूले आफ्ना कमी–कमजोरी सच्याउँदै अघि बढ्नु नै नेपालको राजनीतिक भविष्यका लागि सुरक्षित बाटो भएकोमा सबैले भरोसा गर्नुपर्ने बताए।















