काठमाडौं, १७ असार । होटल तथा रेस्टुरेन्टमा बिक्री हुने खानाको गुणस्तर र स्वच्छतामा कमजोरी देखिँदा नागरिकको स्वास्थ्यमा गम्भीर जोखिम बढ्न सक्ने भन्दै गृह मन्त्रालयले देशभर अनुगमनलाई तीव्र बनाउन निर्देशन दिएको छ। मन्त्रालयले जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीहरूलाई खाद्य सुरक्षासम्बन्धी अनुगमनलाई उच्च प्राथमिकतामा राख्न परिपत्र जारी गरेको हो।
मन्त्रालयका अनुसार पछिल्लो समय होटल तथा रेस्टुरेन्टमा अस्वच्छ तथा गुणस्तरहीन खाद्य सामग्रीको प्रयोगबारे जनगुनासो बढ्दै गएको छ। यसले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्ने भएकाले नियमित, सघन तथा आकस्मिक अनुगमन गर्न निर्देशन दिइएको हो।
निर्देशनमा खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गर्ने, उपभोगका लागि अयोग्य खाद्यवस्तु उत्पादन वा बिक्री गर्ने तथा नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पार्ने गतिविधिमा संलग्न व्यक्ति वा संस्थामाथि कडा कानुनी कारबाही गर्न भनिएको छ।
गृह मन्त्रालयले स्थानीय तहमा उठ्ने स्वास्थ्यसम्बन्धी गुनासा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा तत्काल सम्बोधन गर्नुपर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ। मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूको कार्यसम्पादनको प्रत्यक्ष निगरानी गरिने उल्लेख गर्दै जिम्मेवारीमा लापरबाही वा उदासीनता स्वीकार्य नहुने चेतावनी दिएको छ।
साथै, अस्वच्छ वा गुणस्तरहीन खाद्य पदार्थको उत्पादन, बिक्री वा वितरण भइरहेको जानकारी भएमा नागरिकलाई तत्काल सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा उपलब्ध हटलाइन सेवामार्फत जानकारी गराउन आग्रह गरिएको छ।
















