×
Lagani
Lagani Shiksha gif
भरतपुर सबस्टेसनमा मर्मत जारी, बत्ती आउन अझै आठ घण्टा लाग्ने



चितवन, १७ कात्तिक

भरतपुर सबस्टेसनमा रहेको पावर ट्रान्सफर्मर मर्मत जारी रहेकाले अझै कम्तीमा आठ घण्टा बत्ती नआउने भएको छ । सबस्टेसनमा रहेका दुई ट्रान्सफर्मरमा समस्या आएपछि भरतपुर महानगरपालिकाको वडा नम्बर १ देखि १३ र २९, र तनहुँको देवघाट क्षेत्रमा मंगलबार दिउँसोदेखि विद्युत आपूर्ति बन्द छ ।

Lagani Shiksha gif
sharehubapk भरतपुर सबस्टेसनमा मर्मत जारी, बत्ती आउन अझै आठ घण्टा लाग्ने

बिग्रिएको ट्रान्सफर्मरलाई हटाएर २२.५ एमभीएको अर्को पावर ट्रान्सफर्मर जडान भइरहेको छ । ट्रान्सफर्मर जडान सक्न कम्तिमा आठ घण्टा लाग्ने अनुमान गरिएको छ । अर्को ट्रान्सफर्मर पोखराबाट ल्याइदै गरेको प्राधिकरणले जनाएको छ । ट्रान्सफर्मर जडान सकिएपछि मात्रै बत्ती आपूर्ति हुनेछ ।

तिहारको बेलामा भरतपुर क्षेत्रमा विद्युत आपूर्ति बन्द भएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठसहितको टोली भरतपुर पुगेको छ । उनीहरूले मर्मत भइरहेको स्थलगत निरीक्षण गर्दै छिट्टो काम सक्न निर्देशन दिएका छन् ।

कार्यकारी निर्देशक घिसिङले मर्मत कार्यको अनुमगन गरी जनशक्ति थपेर जतिसक्दो छिटो विद्युत आपूर्ति गर्न निर्देशन दिएका छन् । ‘तिहारको बेला उपभोक्तालाई अँध्यारोमा राख्न हुँदैन, मर्मतका लागि कामदार थपेर भए पनि तत्काल सक्नु पर्छ, तत्कालका लागि उद्योगहरूलाई दिएको विद्युत आपूर्ति कटौती गरी घरायसी प्रयोगमा बत्ती दिने व्यवस्था मिलाउनु पर्छ,’ उनले निर्देशन दिए ।

सबस्टेसनमा रहेका दुई वटा ट्रान्सफर्मरमध्ये एउटामा शनिबार बिहानबाट समस्या देखिएको हो । सबस्टेसनमा रहेको अर्कोमा पनि मंगलबार दिउँसोबाट समस्या देखिएपछि भरतपुर क्षेत्रमा विद्युत आपूर्ति बन्द गरिएको हो । अहिले वैकिल्पक व्यवस्था गरी हस्पिटलहरू, खानेपानी, जिल्ला प्रशासन  तथा प्रहरी, विमानस्थललगायत क्षेत्रमा मात्रै विद्युत आपूर्ति गरिएको छ । सबस्टेसनबाट विद्युत आपूर्ति गर्ने १० वटा फिडरहरूमध्ये एउटा मात्र सञ्चालनमा ल्याउन सकिएको छ ।

सबस्टेसनमा समस्या आउँदा यस क्षेत्रका करिब ५५ हजार ग्राहक विद्युत सेवाबाट वञ्चित भएको प्राधिकरण भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्रका प्रमुख राजीवकुमार सिंहले बताए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस