


नेकपा माओवादी केन्द्रको राजधानीमा जारी आठौं राष्ट्रिय महाधिवेशन अन्तरगत बन्दसत्रमा विवाद भएको छ ।
प्रदेश दुईमा नेता गिरिराजमणि पोखरेल र उनको समूहको भूमिकामाथि प्रश्न उठाउँदै उनी लगायतमाथि कारबाहीको माग भएपछि विवाद उत्पन्न भएको हो ।बुधबार कमलादीस्थित बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष सुनाउने क्रममा प्रदेश २ का टोली नेता रहेका सत्यनारायण भगतले गिरिराजमणि पोखरेल लगायतमाथि कारबाही हुनुपर्ने आवाज उठाएपछि विवाद भएको हो ।
सो विषयमा असन्तुष्टि जनाउँदै पोखरेल बिहीबारको बन्दसत्रमै अनुपस्थित रहेको एक नेताले रातोपाटीलाई बताए । उसो त गिरिराजमणि समूहकै नेतृत्व गर्ने नारायणकाजी श्रेष्ठ समेत ढिलागरी बन्दसत्रमा उपस्थित भएका थिए ।
बन्दसत्र सञ्चालन अध्यक्षमण्डलका सदस्य समेत रहेका पोखरेल बन्दसत्रमा अनुपस्थित रहेपछि सम्मेलनस्थलमा हंगामा नै भएको प्रतिनिधिहरुको भनाइ छ । सही विषयलाई समाधान गर्न अहिले कमलादीमै माओवादी स्थायी कमिटीको बैठक सुरु भएको छ ।
ती नेताले भने, ‘सत्यनारायण भगतले आफ्नो निष्कर्ष सुनाउने क्रममा उठाएको विषयमा छलफल गर्न बैठक बसिरहेको हो । आरोप लागेका नेता नै अनुपस्थित भएको सन्दर्भमा उपयुक्त निर्णय हुन्छ होला ।’
भगतले नारायणकाजी समेतको सहयोगमा गिरीराजमणि र उनी निकटकाले धनुषामा सहिद रामवृक्ष यादवको शालिक हटाएर निर्मल लामाको शालिक राख्ने तयारी गरेको आरोप लगाएका थिए । यो विषय पार्टीले छानबिन गरेर गिरिराजमणिलगायतलाई कारबाही गर्नुपर्ने धारणा हलमा राखेका थिए । तर गिरिराजमणि पोखरेल समूहले भने शालिक आफूहरुले नहटाएको दावी गर्दै आएको छ ।
मोबाइल खोसेपछि बर्दियाकी प्रतिनिधि मेनुका चौधरी आक्रोशित : माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र हलमै मोबाइल खोसेको भन्दै बर्दियाकी प्रतिनिधि मेनुकाकुमारी चौधरी आक्रोशित भएकी छन् । महाधिवेशनस्थल नजिकै रहेको मिडिया सेन्टरमा आएर उनले आक्रोश पोखिन् ।
आफ्नो तस्बिर खिँच्दा समूहगत छलफलको निष्कर्ष सुनाउने प्रज्ञा प्रतिष्ठानको मुख्य हलबाट निकालिएको भन्दै आक्रोश पोखिन । वाइसीएल अध्यक्ष बोलाएर उनले असन्तुष्टि जनाइन् । उनी सातौं महाधिवेशनमा हेटौंडामा पनि प्रतिनिधि थिइन् ।
आफूभन्दा जुनियर प्रतिनिधि बसिरहेको, वाइसीएल र भित्र बसेकाले नै अडियो भिडियो लिक गरेको तर आफूले प्रतिनिधिसँग आफ्नो तस्बिर खोज्दा वाइसीएलका स्वयंसेवकले निकालेको भन्दै आक्रोश पोखेकी हुन् । उनी आक्रोशित भएपछि रामप्रसाद सापकोटा दिपशिखा आएर शान्त पारेका छन् । अब यस्तो व्यवहार सुधार्ने उनले प्रतिबद्धता जनाए ।