NABBC 580 -5 BARUN 354 4.1 VLUCL 600.9 -26.9 UHEWA 550 -17 SMJC 445 -15 NMBD89/90 1034 7 UAIL 666 0.5 KSBBL 483 17.9 SPDL 299.1 -10.9 CLI 590.2 -8.8 MCHL 534 26 GFCL 699 16.9 ALBSL 1084 -32 NYADI 380 3 BFC 532 -1.3 NICAD8283 1100 20 SICL 844.9 -3.9 SHINE 496 -1 TRH 1019 6 SPHL 634 4 SJCL 328 -11 NGPL 390.7 -7.4 HDL 1605 -14.9 LUK 9.75 0.05 RHGCL 387 -19 LLBS 1289 -10 ICFC 702.9 2.9 LBBLD89 1100 14 SBID89 984 -2 CHDC 1372 -34.1 BHL 430 -19 MLBBL 1459.9 -29.1 NICAD8182 1000 1 MSHL 715 -23 NIMB 217.7 -7.6 NMBD87/88 947.2 -19.3 PRIN 897 -11 SMB 1845 -12 LSL 214.5 -1.1 NSIF2 11.07 0.1
×
गोलीको छर्रा बोकेर साउदी गएका लडाकु कमान्डर कफिनमा फर्किए



रुँदारुँदा उनका आँखा भासिएर गुफाजस्ता भएका थिए ।

शोक र भोकले अनुहार सुकेको थियो । ‘अब म कसरी बाँच्न्या होला !’ खैरो बाकस मंगलबार बिहान जब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निस्क्यो, लक्ष्मी कार्की छाँद हालेर चिच्याइन्, ‘क्या दिन देख्नुपर्‍यो नि आज मैले ।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा मंगलबार पतिको शव आउँदा विलौना गर्दै जुम्ला तातोपानी–३ तिलाकोटकी लक्ष्मी कार्की । माओवादी लडाकुकापूर्व सेक्सन कमान्डर ४० वर्षीय तिलकबहादुर कार्की ‘हिमाल’ गत वर्ष साउदी गएका थिए । फलाम कारखानामा काम गर्ने उनी गत पुस २७ मा कोठामा सुतेका थिए, तर ब्युँझिएनन्।

बाकसभित्र चिर निद्रामा थिए उनका ४० वर्षीय पति तिलकबहादुर कार्की । कुनै समय माओवादीको सेक्सन कमान्डर भएर देशै बदल्ने सपना देख्थे उनी तर त्यो सपनाले कहिल्यै मूर्तरूप लिएन । देश त के, आफ्नै दुःखी जिन्दगीलाई पनि तिलकले बदल्न सकेनन् । माओवादी लडाकुका तत्कालीन सर्वोच्च कमान्डर पुष्पकमल दाहाल प्रधानमन्त्री भइरहेका बेला उनकै एक कमान्डर भने कफिनमा ल्याइएका छन् ।

देशमा शान्ति आयो, अनेक राजनीतिक परिवर्तन भए तर जुम्ला तातोपानी–३ तिलाकोटका तिलक र उनीजस्ता भुइँमान्छेको जीवनमा त्यसले कुनै फरक पारेन । भूमिगत जीवनले बदल्न नसकेको आर्थिक अवस्थाका कारण युद्धकालमा पेटमा लागेको गोलीको छर्रा निकाल्नसमेत उनले सकेनन् । बुढा बाबुआमा, पत्नी, दुई छोरा र एक छोरीको एक्लो सहारा तिलक छर्राका कारण बेलाबेला दुख्ने पेट लिएरै गत वर्ष माघ ९ गते साउदी उडेका थिए । फलाम कम्पनीमा काम गर्ने उनी खाडीको गर्मीमा अहोरात्र खटिँदा महिनाको ३५ हजार रुपैयाँ पाउँथे । साउदी जान लागेको तीन लाख ऋण र त्यसको ब्याज तिर्नुका साथै परिवारको दैनिक खर्च पुर्‍याउनै उनलाई हम्मे थियो । कुनै दिन भाग्य फिर्ला भन्ने विचारले उनी काममा खटिइरहेकै थिए ।

‘बाबु, घरतिर ख्याल राख्या है,’ १७ वर्षीय छोरा पारसलाई उनी हरेक दिनजसो भिडियो कल गरेर सम्झाउँथे, ‘पढ्न नछाड्या, भाइबहिनीलाई माया गरिरहनू ।’ गएको पुस २७ गते दिउँसो पनि उनीहरूबीच यस्तै कुरा भएको थियो । त्यसको तीन घण्टापछि तिलक सुतेको सुत्यै भएछन् । गत वर्ष माघमा २४ प्रतिशत ब्याजमा तीन लाख ऋण काढेर तिलकसँगै उनका बडाबाका छोरा बखत कार्की पनि साउदी उडेका थिए । दुवै एउटै कम्पनीमा काम गर्थे, एउटै कोठामा सुत्थे । त्यस दिन पनि काम गरेपछि कोठामा आई सुतेका थिए । तर, तिलक भने फेरि कहिल्यै नब्युँझिने गरी निदाए ।

‘उहाँले भनेअनुसार ज्वाइँलाई हृदयाघात भएको हो अरे,’ तिलकका जेठान भक्तबहादुर रावलले सुनाए, ‘कुनै रोग पनि लागेको होइन, यसअघि केही भएको पनि थिएन, कसरी एक्कासि यस्तो भयो, बुझ्नै सकिरहेका छैनौं ।’

साउदीबाट शव कसरी झिकाउने भन्ने चिन्ताले कार्की परिवारलाई ज्यादा पिरोल्न थाल्यो । तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेवती रावल पारसकी माइजू हुन्, जसले काठमाडौं जान ३५ हजारमा गाडी रिजर्भ गरिन् । त्यसैमा चढेर लक्ष्मी, पारस, भक्तबहादुर, रेवती र अरू तीन आफन्त गरी सात जनाको टोली ३१ घण्टापछि काठमाडौं आइपुग्यो । सुन्धाराको एउटा होटलमा बसेर उनीहरूले भ्याएसम्मका ठाउँ गुहारे । जुम्लाबाट जितेका सांसद ज्ञानेन्द्र शाहीले केही गरिदेलान् भन्ने आस पारसलाई थियो । तर, शाहीलाई भेट्नै पाँच दिन लाग्यो । ‘भेटे पनि खासै काम हुन सकेन उहाँबाट,’ पारस भन्छन्, ‘कहाँ गएर कसलाई के भन्ने भन्ने भयो हामीलाई त ।’

माओवादीबाट समानुपातिक सांसद चुनिएकी जुम्लाकै ३० वर्षीया छिरिङ लामासँग कसैले कार्की परिवारलाई भेटाइदियो । छिरिङले पूर्वसभामुख कृष्णबहादुर महरालाई, महराले परराष्ट्रमन्त्री विमला राई पौड्याललाई, उनले परराष्ट्र सचिव भरतराज पौडेललाई, सचिव पौडेलले काउन्सिलर विभागका निर्देशक प्रकाशमणि पौडेललाई र उनले साउदीका राजदूत नवराज सुवेदीलाई अनि सुवेदीले तिलक काम गर्ने कम्पनीका सञ्चालकलाई भनेपछि कतार एयरवेजबाट काठमाडौंसम्म शव झिकाउँदा निकै दौडधुप गर्नुपर्‍यो । ११ दिनसम्म काठमाडौं बस्दा डेढ लाख खर्च भएको पारस बताउँछन् ।

पहिलो पटक काठमाडौं टेकेका १७ वर्षीय पारस र उनकी ३५ वर्षीया आमा लक्ष्मी मंगलबार बिहानै सुन्धाराबाट विमानस्थल पुगेका थिए आफन्त र शुभेच्छुकका साथ । उनीहरूलाई ढाडस दिन साथै उभिएकी थिइन् सांसद लामा, जसले बाटाखर्चका लागि केही रकम पनि लक्ष्मीका हातमा राखिदिइन् । नेपाल एयरलाइन्स कार्गो शाखाका अधिकृत सन्तोष खड्काले लक्ष्मीको सहीछाप गराएर शव बुझाएपछि उनीसहित आफन्तको रुवाबासी सुरु भयो । तर, धेरैबेर बिलौना गर्ने समय विमानस्थल प्रशासनले दिएन । किनभने, कतारदेखि मलेसियासम्मका अरू ७ युवा पनि त्यसैबेला तिलकझैं कफिनमा स्वदेश फिरेका थिए ।

तिलक बितेको खबरले जुम्लाको शान्त तिलाकोट गाउँ बिथोलिएको छ । यही गाउँमा २१ वर्षअघि ‘जनमुक्ति सेना’ मा भर्ती भएर भूमिगत भएका भक्तबहादुर रावलले तिलकसँग बहिनी लक्ष्मीको जनवादी बिहे गराइदिएका थिए । त्यतिखेर तिलक थिए १८ वर्षका र लक्ष्मी थिइन् १४ की । बिहा भएको एक वर्षमै छोरा पारस जन्मिए । कक्षा आठसम्म पढ्न पाएका तिलकचाहिँ जेठानझैं बन्दुक समातेर भूमिगत भए । बर्दियाको कुसुममा भएको भिडन्तमा गोली लागी घाइते हुन पुगे, त्यतिबेला उनी सेक्सन कमान्डरको जिम्मेवारीमा थिए । गोलीको छर्रा निकाल्न लाग्ने महँगो उपचार उनले गराउन सकेनन् । १८ वर्षसम्म केही होला कि भनेर पर्खिरहे । तर, जति पटक पार्टी सरकारमा गए पनि र ‘जनमुक्ति सेना’ कै सर्वोच्च कमान्डर प्रधानमन्त्री भए पनि तिलकको दुःख हटेन । परिवारको आर्थिक अवस्था सुधार्न साउदी गएका उनी भने बाकसभित्र आए ।

यसरी विदेशबाट बाकसमा आउने शवलाई उनीहरूको घरसम्मै पुर्‍याइदिन वैदेशिक रोजगार बोर्डले निःशुल्क शववाहनको व्यवस्था गरिदिएको छ । बोर्डका कर्मचारीले हतार हतार तिलकको बाकसलाई वाहनमा राखे । पछिपछि अर्को गाडीमा लक्ष्मी, पारस र अरू आफन्त चढे । दुई दिनसम्म लगातारको यात्रापछि भर्खरै परेको हिउँले बाटो छेकेन भने उनीहरू जुम्ला पुग्नेछन् । त्यहाँ बैंसको रूखमुन्तिर खेलाछेउमा चिहान छ । तिलकलाई उनका बुढा बाबुआमा, १४ वर्षका छोरा र ११ वर्षकी छोरीले त्यहीँ अन्तिम पटक हेर्नेछन् । कान्तिपुर दैनिकबाट 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस