×
Lagani
Lagani Shiksha gif
दुर्गा माता प्रति जागेको मुस्लिमको आस्था, मिलेर बनाए मन्दिर



बाँकेको जानकी गाउँपालिका– १ शिवपुरी निवासी ६६ वर्षीया जमिला खान वर्षौँ पहिलेदेखि आफ्नो घर नजिकैको खेतमा रहेको एउटा ढुङ्गालाई दुर्गा माता मान्दै आएकी थिइन्।

शुभ कार्य गर्दा होस् वा घरमा कोही बिरामी पर्दा, उनले दुर्गा माता सम्झिएर भाकल गर्थिन् र पुजारीको हातबाट प्रसाद चढाउन जान्थिन्। अहिले जमिलासहित कयौँ मुस्लिमहरूको समेत श्रमदानमा त्यही ठाउँमा दुर्गाको मन्दिर बनेको छ। दुर्गामाता भनेर पूजा गरिने ढुङ्गालाई छहारी दिइएको मन्दिर त त्यहीँ भएको दशकौँ भइसकेको थियो। “पहिले सानो थियो अहिले ठूलो भयो, हामी सबैले मद्दत गर्यौँ, अहिले ठूलो मन्दिर बनाएका हौँ,” जमिलाले भनिन्।

Lagani Shiksha gif
sharehubapk दुर्गा माता प्रति जागेको मुस्लिमको आस्था, मिलेर बनाए मन्दिर

आफूले इस्लाम धर्म नै माने पनि दुर्गा माताको मन्दिर प्रति पनि आफ्नो आस्था र विश्वास रहेको उनी बताउँछिन्। “हामीले उत्पादन गरेका अन्न बाली पहिले माताको नाममा छुट्टयाएरमात्र खाने गर्छौं,” उनले भनिन्।

मन्दिर कसरी बन्यो?

शिवपुरी गाउँमा बसोबास गरेका स्वर्गीय टोपबहादुर बस्नेत र धनकुमारी बस्नेतको दम्पत्तीले सबैभन्दा पहिले पूजा गरेको स्थानमा सबैले दुर्गा माताको मन्दिर सम्झेर पूजा गर्दै आएको स्थानीय वासिन्दाको अनुभव छ। धनकुमारी बस्नेतले पूजा गर्दै गरेको देखेर गाउँका सबैले विश्वास गर्दै आएको ८५ वर्षीया रत्ना केसी बताउँछिन्।

८४ पूजा गरिसकेकी उनले विक्रम संवत् २०२६ सालदेखि पूजा गर्दै आएको स्थानमा मन्दिर बनेको देख्दा खुसी लागेको बताउँछिन्। मुस्लिम समुदायले पनि अन्य समुदाय जस्तै वर्षौँ पहिलेदेखि आस्था राख्दै आएकाले दुर्गा माताको मन्दिर निर्माणमा सहयोग गर्ने उत्साह जागेको स्थानीय बासिन्दा मामुल खाँले बताइन्।

सबै धर्म र जात जाति मिलेर एउटै समाजमा बसेपछि एक अर्कालाई सहयोग अवश्य हुन्छ। उनले भनिन्, “दुर्गा माता प्रति यहाँका हिन्दु र मुस्लिम दुवैको विश्वास छ, विश्वास भएरै सबै मिलेर मन्दिर निर्माण गर्न सफल भयौँ।” ढुङ्गामा पूजा गर्दाको समयबाट नै पूजा पाठमा सहयोग गर्दै आएको अर्का स्थानीय बासिन्दा ईसार अहमद खाँको अनुभव छ।

“मन्दिरको लागि हामी सबै जातजाती मिलेर योगदान गरेका छौँ, त्यसमा कसैको आपत्ति छैन,” उनले भने। “हामी पनि समय समयमा सोही मन्दिरमा प्रसाद चढाएर आउँछौँ।” शिवपुरीमा हिन्दु समुदायका लागि मठमन्दिर नहुँदा पूजापाठमा समस्या भएपछि स्थानीयको सहयोगमा मन्दिर निर्माण गर्ने निर्णय भएको थियो।

सानो ढुङ्गा राखेर दुर्गा माता भनेर पूजा गरिँदै आएको ठाउँलाई थप व्यवस्थित गरेर मन्दिर निर्माण गरिएको मन्दिर निर्माण समितिका अध्यक्ष सुरेश थापाले जनाए।

सुरुमा एउटा ढुङ्गाबाट पूजा पाठ सुरु गरेका स्वर्गीय टोपबहादुर बस्नेत र धनकुमारी बस्नेतका छोराबुहारी उद्यान बस्नेत र नन्दा देवी बस्नेतले मन्दिरका लागि दुई कट्ठा सात धुर जग्गा दान गरेको उनी बताउँछन्।

मन्दिर निर्माणका लागि स्थानीयवासीले करिब २० लाख रुपैयाँ सङ्कलन गरेका थिए। एक लाख वडा कार्यालयले उपलब्ध गराएपछि करिब २१ लाख लागतमा मन्दिर निर्माण गरिएको अध्यक्ष थापाको भनाइ छ। उनले भने, “पैसा हुनेले पैसा सहयोग गर्नुभयो, पैसा नहुनेले मन्दिरको लागि केही गर्छु भनेर स्वत:स्फूर्त रूपमा श्रमदान गर्नुभयो, धेरैको सहयोग पाइयो ।” कतिपयले निर्माण सामग्री सिमेन्ट, इट्टा, ढुङ्गा, गिट्टी, बालुवा समेत सहयोग गरेर योगदान पुर्‍याएको उनको भनाइ छ।

मन्दिर निर्माण गरिरहेको थाहा पाएपछि नजिकै रहेको भारतीय सीमा पारीका गाउँबाट समेत सहयोग सङ्कलन गरेर पठाएको थापाले बताए। “कसैले २० रुपैयाँ सहयोग गर्नुभयो‍। कसैले चार लाख रुपैयाँसम्म पनि सहयोग गर्नुभयो,” उनले भने। २०७८ जेठदेखि सुरु भएको मन्दिर निर्माणको काम करिब ११ महिनामा सकिएको थियो।

करिब दुई सय घर रहेको यो गाउँमा करिब ३५ घरधुरी मुस्लिम समुदायको छ। हिन्दुको मन्दिर निर्माण गर्न मुस्लिम समुदायका मानिस पनि श्रमदानका लागि गएका थिए। हिन्दु र मुस्लिम समुदायबीच एकता र सद्भावको सन्देश दिन मन्दिर निर्माणमा सहयोग गरेको मुस्लिम समुदायको भनाइ छ।

निर्माण सुरु भएपछि सबै क्षेत्रबाट सहयोग प्राप्त भएको मन्दिर निर्माण समितिकी उपाध्यक्ष सुनिता आलेले बताइन्। “मुस्लिम समुदायका व्यक्तिले समेत सहयोग गर्छन् भनेर विश्वास नै लागेको थिएन तर उहाँहरूले श्रमदान गर्नुका साथै आफ्नो तर्फबाट ग्रील ढोका ल्याएर मन्दिरमा लगाइदिनुभयो। हामीले जस्तै उहाँहरू पनि आफूले भित्र्याएको अन्न दुर्गामातालाई चढाउनुहुन्छ,” आलेले भनिन्। बिबिसी नेपालिबाट 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस