×
Lagani
Lagani Shiksha gif
परिवारसँग नयाँ वर्ष मनाउन फर्किने तयारीमा थिए निराकार



थाइल्यान्डको सीमानजिकै रहेको कम्बोडियाको पोइपेटस्थित एक क्यासिनोमा भीषण आगलागीमा परी झापा बिर्तामोड–१ का ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको छ ।

ग्रान्ड डायमन्ड सिटीको भवनमा बिहीबार रातिको घटनामा उनीसहित २४ जनाको मृत्यु भएको हो ।उक्त घटनापछि एनआरएन कम्बोडियाका अध्यक्ष लालसिंह खड्का घटनास्थलमा पुगेका छन् । अहिले पाण्डेको शव थाइल्यान्डस्थित नेपाली दूतावासमार्फत नेपाल पठाउने तयारी भइरहेको अध्यक्ष खड्काले कान्तिपुरलाई बताए । उक्त क्यासिनोमा केही नेपालीहरू पनि कार्यरत भएको तर उनीहरूको अवस्थाबारे अझै थप विवरण नआएको जनाइएको छ ।

Lagani Shiksha gif
sharehubapk परिवारसँग नयाँ वर्ष मनाउन फर्किने तयारीमा थिए निराकार

‘बैंककस्थित नेपाली दूतावासका प्रथम सचिव खगराज पाण्डेयलगायत व्यक्ति घटनास्थल आउनुभएको छ । उहाँहरूको समन्वयमा पाण्डेको शव नेपाल पठाउने तयारी गरिरहेका छौं,’ उनले भने । पाण्डेले मृत्युअघि परिवारलाई भाइबरमार्फत भिडियो कलमा आफ्नो अवस्थाबारे जानकारी गराएका थिए । आफू १२ औं तलामा रहेको र अब हाम फाल्नुको विकल्प नरहेको बताएका थिए ।

परिवारले भने त्यसो नगर्न र उद्धारका लागि अपिल गर्न आग्रह गरेका थिए । उनले ९ वर्षीय छोरालाई भनेका थिए, ‘सानु, मेरो आँखाको नानी बाबु, म तिमीलाई धेरै माया गर्छु है । बाबा अल्वेज लभ्स यू । जहाँ भए पनि, जसरी बसे पनि बाबाले तिमीलाई सधैं सम्झनुहुन्छ है बाबु । आर्मन इज द बेस्ट है सानु ।’

बिर्तामोडमा रहेका हजुरबुबा–हजुरआमा र मामाघरतर्फका हजुरबा–हजुरआमालगायतलाई पनि माया गर्न छोरालाई आग्रह गर्दै उनले भनेका थिए, ‘मामुलाई धेरै माया गर्नू, अग्नि बुबा, लीला मामुलाई माया गर्नू है । लमजुङको बुबा–मामुलाई माया गर्नू । सबैभन्दा ठूलो कुरा– राम्रो मान्छे बन्नुपर्छ है छोरा ।’

पाण्डे एक महिनाअघि कम्बोडिया पुगेको खड्काले कान्तिपुरसित बताए । उनी यसअघि पनि करिब ३ महिना कम्बोडिया बसेर नेपाल फर्किएका थिए । उक्त क्यासिनोका सबै कोठाका ढोकाहरूमा विद्युतीय प्रणाली जडान गरिएको थियो । आगलागी भएपछि विद्युत् अवरुद्ध भएको र कोठामा रहेका मानिस त्यहाँबाट बाहिर निस्कन नसकेकाले धेरै जनाको मृत्यु भएको स्थानीय प्रशासनलाई उद्धृत गर्दै समाचार संस्था सीएनएनले जनाएको छ ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका उक्त आगलागीका अन्य भिडियोहरूमा होटलको भवनमाथिबाट हामफाल्दै गरेको दृश्यहरूसमेत देखिएको छ । उक्त क्यासिनोमा ४ सय जना कार्यरत रहेको र त्यहाँका अधिकांश कामदार थाइल्यान्डका भएको बीबीसीले उल्लेख गरेको छ । ‘आगलागीबाट बच्नका लागि भवनबाट कुदाकुद गरेको दृश्य हामीले देखिरहेका थियौं,’ उद्धार कार्यमा खटिएका एक स्वयंसेवकले भने, ‘भवनबाट मानिसहरू हतोत्साहित भएर हाम फालिरहेका पनि थिए ।’ भवन धूँवाको कुइरीमण्डल भएकाले भित्र जानका लागि उद्धारमा खटिएकाहरूलाई अप्ठ्यारो परिरहेको थियो ।

बिर्तामोड–१ घर भई हाल काठमाडौं सुकेधारा बस्दै आएका पाण्डे परिवारसँग नयाँ वर्ष मनाउन शनिबारसम्म काठमाडौं आइपुग्ने तयारीमा थिए । यसका लागि कम्बोडियामा महिना दिनसम्म गरेका कामको जिम्मेवारी एक जना श्रेष्ठ थरका साथीलाई जिम्मा लगाएको खबर परिवारलाई गरेका थिए ।

‘बुधबार दिउँसो मसँग कुराकानी भएको थियो । निराकारले आइतबार परेको न्यु इयर परिवारसँगै मनाउने गरी भोलि वा पर्सि काठमाडौं आइपुग्छु भनेर भनेका थिए,’ साथी दिनेश सिलवालले भने । निराकारको मृत्युको खबरले परिवार शोकाकुल छ । भाइ निश्चललाई सबैले सोधिरहेका छन्, ‘शव कहिले आइपुग्छ ?’ उनीसँग कुनै जवाफ छैन । बिर्तामोड–१ का वडाध्यक्ष अग्नि पाण्डेका माइला छोरा हुन् निराकार ।

परिवारजनका अनुसार भिजिट भिसामा करिब एक महिनाअघि निराकार थाइल्यान्ड गएका थिए । थाइल्यान्डबाट उनी कम्बोडिया पुगेका हुन् । व्यापारिक प्रयोजनका सिलसिलामा उनी थाइल्यान्ड हुँदै कम्बोडिया गएको परिवारले जनाएको छ । क्यासिनोमा आगो लागेपछि निराकारले राति १० बजेतिर काठमाडौंमा पत्नी शशीकला लोहनीलाई भिडियो कल गरेर जानकारी गएका थिए । निराकारका बाबु अग्नि गत वैशाखमा दोस्रो कार्यकालका लागि बिर्तामोड–१ को वडाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

बाबुलाई जिताउन निर्वाचन अवधिमा निराकार बिर्तामोडमा थिए । उनी गत असोजमा पनि केही समय कम्बोडिया बसेर फर्किएका थिए । कान्छा भाइ नीराजनको असोज ११ मा भएको विवाहमा परिवारका सबैसँग रमाएका उनी गत कात्तिक २१ मा पुनः भिजिट भिसामा थाइल्यान्ड हुँदै कम्बोडिया गएका थिए । निराकारको शव पहिचान भइसकेको र नेपाल ल्याउने प्रक्रियाका लागि थाइल्यान्डस्थित नेपाली दूतावासलाई चिट्ठी पठाएको दाजु निरजले बताए । कान्तिपुर दैनिकबाट 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस