सबै खाले धितोपत्रमा गरिने लगानी जोखिममुक्त हुँदैन । साधारण सेयरमा गरिने लगानीलाई अन्य धितोपत्रमा गरिने लगानीभन्दा बढी जोखिमपूर्ण मानिन्छ । किनभने यसमा लाभांशको ग्यारेन्टी गरिएको हुदैन । त्यसैगरी सेयरको बजार मूल्य सधैं बढीरहन्छ भन्ने पनि निश्चित हुदैन ।
निजी क्षेत्रका पब्लिक कम्पनीले जारी गर्ने ऋणपत्र (डिबेन्चर)को हकमा तोकिएको समय र दरमा ब्याज तथा साँवा भुक्तानी गर्ने शर्त रहने हुँदा यसलाई सेयर भन्दा कम जोखिमपूर्ण मानिन्छ । बजार मूल्यमा उतारचढावको जोखिम भने यसमा पनि रहेकै हुन्छ ।
यस्तै सरकारी धितोपत्रमा तोकिएको समय र तोकिएको दरमा ब्याज प्रदान गरिने र तोकिएको अवधिमा सावाँ भुक्तानी समेत निश्चित हुने हुँदा यस्ता धितोपत्रलाई जोखिममुक्त मानिन्छ ।धितोपत्र बजार सम्बन्धी पर्याप्त जानकारी नभएका र बढी जोखिम लिन नचाहने लगानीकर्ताहरुले सामूहिक लगानी कोषहरु (म्युचुअल फन्डमा लगानी गर्न सक्दछन् ।
यस्ता कोषहरुले लगानीकर्ताहरुलाई एकांक निष्कासन गर्दछन् र संकलित रकम विभिन्न किसिमका धितोपत्रहरुमा दक्ष तथा ब्यावसायिक रुपमा लगानी गर्ने कोषहरुको उद्देश्य रहेको हुन्छ ।यसरी गरिएको लगानीबाट प्राप्त प्रतिफलमा कोषले व्यवस्थापन शुल्क तथा अन्य खर्चहरु कटाई बाँकी रकम सम्बन्धित लगानीकर्ताहरुलाई नै वितरण गर्दछ ।
म्युचुअल फन्डको खुलामुखी योजनामा लगानीकर्ता जुनसुकै समयमा पनि सहभागी हुनसक्छन । यस्तो योजना परिपक्व हुने निश्चित अवधि तोकिएको हुदैन । लगानीकर्ताले आफुँसंग भएको एकांक जनुसुकै समयमा बेच्न सक्छन र किन्न पनि सक्छन । प्रचलित खुद सम्पत्ति मूल्यका आधारमा यसको किनबेच हुन्छ ।
म्युचुअल फन्डको बन्दमुखी योजना निश्चित परिमाण र निश्चित समयका लागि सञ्चालित हुन्छ । पूर्व निर्धारित समयावधिमा लगानीकर्ताले योजनाको एकांक किन्न पाउँछन । योजना परिपक्व भएपछि लगानीकर्ताले प्रचलित खुद सम्पत्ति मूल्यमा एकांक बिक्री गर्छन ।
साधारण सेयरमा लगानी गर्ने लगानीकर्तालाई सम्बन्धित कम्पनीको स्वामित्व प्राप्त हुन्छ । साथै कम्पनी नाफामा गएमा नगद लाभांश तथा बोनस सेयर प्राप्त हुने तथा धितोपत्रको बजार मूल्य बढ्दै गएमा पुँजीगत लाभ (बिक्री मूल्य र खरिद मूल्यको अन्तर) समेत प्राप्त हुन सक्दछ ।
कम्पनीले हकप्रद सेयर निष्काशन गरेमा सो खरिद गर्ने पहिलो हक समेत साधारण सेयरधनीलाई प्राप्त हुन्छ ।
तर कम्पनी नोक्सानमा गएमा साधारण सेयरधनीहरुले लाभ प्राप्त गर्न नसक्नुका साथै आफ्नै लगानी रकम समेत डुब्ने सम्भावना हुन्छ । यसरी साधारण सेयरमा जति बढी लाभको सम्भावना रहन्छ त्यति नै बढी जोखिमको सम्भावना समेत रहनाले यसलाई अन्य धितोपत्र भन्दा बढी जोखिमपूर्ण मानिन्छ ।











