स्नो रिभर्स लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासनको प्रक्रिया सुरु गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ खुलाएको हो।
कुल १८ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणमा बाँडफाँड गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट माघ १८ गते अनुमति पाएको यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ जारी गरेको छ। यस निष्कासनमा आयोजना प्रभावितहरूका लागि ९ लाख ३७ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ९३ हजार ७५० कित्ता छुट्याइएको छ।
आयोजना प्रभावित क्षेत्रतर्फको सेयर बाँडफाँडमा पनि विशेष व्यवस्था गरिएको छ। ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिका-८ का अति प्रभावित स्थानीय बासिन्दालाई ४ लाख ६८ हजार ७५० कित्ता र सोही गाउँपालिकाका वडा नं १ देखि ७, सिदिङ्वा गाउँपालिकाका वडा नं ५ र ६, पाथीभरा याङवारक गाउँपालिकाका वडा नं ५ र ६ तथा पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका-१ का स्थानीय बासिन्दालाई बाँकी ४ लाख ६८ हजार ७५० कित्ता सेयर छुट्याइएको छ।
वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूले भने नेपाल सरकारको सम्बन्धित निकायबाट वैधानिक श्रम स्वीकृति लिएर विदेशमा कार्यरत रहेको प्रमाण पेश गरेमा यस आईपीओमा आवेदन दिन सक्नेछन्।
आयोजना प्रभावित क्षेत्रका लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्। यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
आयोजना प्रभावित क्षेत्रका लागि छुट्याइएको आईपीओको आवेदन चैत २३ गते बन्द हुनेछ। यदि उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेमा वैशाख ८ गतेसम्म आवेदन दिने म्याद थपिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने आवेदन चैत १२ गते नै बन्द हुनेछ, तर पर्याप्त आवेदन नपरेको खण्डमा चैत २३ गतेसम्म म्याद रहनेछ।
आयोजना प्रभावितहरूले काठमाडौंको नक्सालस्थित सानिमा क्यापिटल लिमिटेड, ताप्लेजुङको सिरिजङ्गा-८ स्थित आयोजनास्थल, नेपाल बैंक लिमिटेडको सिरिजङ्गा शाखा, एनएमबि बैंक लिमिटेड, सानिमा बैंक लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेडको फुङलिङ शाखा कार्यालयमा गई आवेदन फाराम संकलन र बुझाउन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू मार्फत सी–आस्बा प्रणालीमा आवेदन बुझाउन सक्नेछन्। यस धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेडले सम्हालेको छ।











