×
Lagani
Lagani Shiksha gif
के ग्यास सिलिन्डरमा ‘एक्सपायरी डेट’ (म्याद गुज्रने मिति) हुन्छ ? हेर्नुहोस तथ्यजाच ।



नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको निवासमा ग्यास चुहिएर भएको भनिएको आगलागीपछि सामाजिक सञ्जालमा ग्यास सिलिन्डरमा एक्सपायरी डेट अर्थात् म्याद गुज्रने मिति लेखिएको हुने भन्दै त्यो हेर्न सिकाउने गरी विभिन्न पोस्टहरु भाइरल भएका छन्।

भाइरल पोस्टहरुमा ग्यास सिलिन्डरमा हुने अङ्ग्रेजी अल्फाबेटको एउटा अक्षर र दुई वटा अङ्कले ‘एक्सपायरी डेट’ जनाउने दावी गरिएको छ। तर हाम्रो तथ्य जाँचमा यो दावी भ्रामक देखिएको छ। ती अक्षर र अङ्कले एक्सपायरी डेट नभएर परीक्षण गर्नु पर्ने समय जनाउने देखिएको छ।

Lagani Shiksha gif
sharehubapk के ग्यास सिलिन्डरमा ‘एक्सपायरी डेट’ (म्याद गुज्रने मिति) हुन्छ ? हेर्नुहोस तथ्यजाच ।

यस्तो छ भाइरल सामग्री
पूर्व सचिव भीम उपाध्यायले बिहीबार (फेब्रुअरी १६, २०२३) दिउँसो १२ बजेर २६ मिनेटमा ‘कतै तपाईँको ग्यास सिलिण्डरको म्याद एक्सपाएर भएको त छैन?’ भनेर प्रश्न गर्दै सिलिण्डरको माथिको गोलो ह्याण्डललाई तलको भाँडोसँग जोड्ने ३ वटा सीधा चेप्टो डण्डीमा अङ्ग्रेजी अक्षर A देखि D सम्मका कुनै अक्षरले म्याद गुज्रने (एक्सपायर हुने) महिना र दुई वटा अङ्कले वर्षलाई सङ्केत गर्ने दावी गरेका छन्। शुक्रबार अपराह्न ३ बजेसम्म यो पोस्ट ३ हजार ४ सय पटक सेयर भइसकेको छ भने यसमा ५ हजार २ सय रियाक्सन र ६३८ वटा कमेन्ट देखिन्छ।

त्यसैगरी अनलाइनखबरले बिहीबार साँझ फेसबुकमा ‘कसरी चिन्न सकिन्छ भान्साको ‘सिलिन्डर बम’ ? लेख्दै एउटा ग्राफिक्स पोस्ट गरेको छ। त्यसमा ‘सिलिन्डरको एक्सपायरी डेट थाहा पाउने तरिका’ शीर्षकमा विवरण राखिएको छ। शुक्रबार अपराह्नसम्म यो पोस्टमा ४ हजार २ सय वटा रियाक्सन र ३ सय ६ वटा कमेन्ट देखिएको छ भने १ हजार २ सय पटक सेयर भएको छ।सामाजिक सञ्जालमा अरु धेरैले पनि यही विषय राखेका छन्।

के हो तथ्य ?
हामीले यो विषयमा खोज्ने क्रममा ‘ग्यास सिलिन्डर एक्सपायरी डेट’ कीवर्ड राखी गुगलमा खोज्दा भारत सरकारको स्वामित्वमा रहेको इन्डियन आयल कर्पोरेसन लिमिटेडको वेबसाइटमा एउटा विज्ञप्ति भेट्यौँ, जसको शीर्षक छ- ‘There is no expiry date for LPG cylinders, only test due date’ अर्थात् एलपीजी (खाना पकाउन प्रयोग हुने) ग्यास सिलिन्डरहरुमा एक्सपायरी (म्याद गुज्रने) मिति हुन्न, परीक्षण गर्नुपर्ने मिति मात्र हुन्छ।

 

indianoil 768x397 1 के ग्यास सिलिन्डरमा ‘एक्सपायरी डेट’ (म्याद गुज्रने मिति) हुन्छ ? हेर्नुहोस तथ्यजाच ।

विज्ञप्तिमा लेखिएको छ, ‘एक्सपायरी अर्थात् म्याद गुज्रनेको सामान्यतया अर्थ नाश हुने सामानहरुको आयु भन्ने बुझिन्छ जुन सुरक्षित भण्डारण र त्यस्ता उत्पादनलाई समयभित्र प्रयोग गर्न सुझाव दिइएको समय हुन्छ। यद्यपि, एलपीजी सिलिन्डरहरुको हकमा त्यसको सेवाअवधि बाह्य भौतिक कारणहरु जस्तै तापक्रम, दबाब, अरु वातावरणीय स्थिति, प्रयोग, इम्प्याक्ट लोड आदिमा भर पर्छ। त्यसकारण एलपीजी सिलिन्डरहरुमा कुनै एक्सपायरी मिति हुँदैन।’

भाइरल पोस्टहरुमा देखिएको सिलिन्डरमा रहेको अक्षर र अङ्कबारे विज्ञप्तिमा लेखिएको छ, ‘निरीक्षण र परीक्षणको समय भएपछि त्यस्ता सिलिन्डरहरुलाई बोटलिङ प्लान्टहरुमा छुट्याइन्छ र परीक्षण गरिन्छ। परीक्षणपछि पुनःप्रयोग, रिफिलिङका लागि उपयुक्त सिलिन्डरहरुलाई अर्को पटक परीक्षण गर्नुपर्ने मिति पेन्ट गरेर बजारमा पठाइन्छ। ती अक्षर र अङ्कको अर्थ अर्को पटक परीक्षण गर्नुपर्ने मिति हो।’

हामीले यो बारे नेपाल ग्यासका सिनियर सिलिन्डर स्टक किपर रामहरि कोइरालासित पनि कुरा गर्‍यौँ। उनका अनुसार ग्यास सिलिन्डर उत्पादन भएको १० वर्षसम्म सुरक्षित हुन्छ। त्यसको लागि कुनै टेस्ट गर्नुपर्दैन। १० वर्षपछि भने प्रत्येक पाँच वर्षमा हाइड्रोलिक टेस्ट गर्नुपर्छ। र, हाइड्रोलिक टेस्ट गरेर मात्र सिलिन्डर बजारमा पठाइन्छ । यदि उक्त टेस्टमा सिलिन्डर सामान्य पाइएमा पुनः पाँच वर्ष प्रयोग गर्न सकिन्छ।

उनी भन्छन्, ‘सिलिन्डरमा अल्फावेट र वर्षको अन्तिम अंक उल्लेख गरिएको हुन्छ, जस अनुसार ए भनेको जनवरी, फेब्रुअरी, मार्च हो। बी भनेको अप्रिल, मे जुन हो। सी भनेको जुलाई, अगस्त, सेप्टेम्बर हो भने डी भनेको अक्टोबर, नोभेम्बर, डिसेम्बर। ए २३ लेखिएको छ भने सन् २०२३ को मार्चपछि परीक्षण गर्नुपर्छ भनेको हो।’

त्यसैगरी नेपाल आयल निगमका निर्देशक नेत्र काफ्लेले सामान्यतया एउटा सिलिन्डर बनेको १५ वर्षभित्रमा ह्रासकट्टी गर्नुपर्ने बताए।

यसअघि भएका तथ्य जाँच

यो विषयमा विदेशमा यसअघि पनि तथ्य जाँच भइसकेको छ। केन्यामा यस्तै खालको पोस्ट सामाजिक सञ्जालमा भाइरल भएपछि अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले सन् २०२० मा तथ्य जाँच गरेको थियो।

उक्त तथ्य जाँचमा ग्यास सिलिन्डरमा एक्सपायरी डेट नहुने प्रष्ट पारिएको छ।

हेर्नुस् एएफपीको तथ्य जाँच।

त्यस्तै भारतमा पनि यस्तै पोस्ट भाइरल भएपछि फ्याक्टलीले सन् २०१९ मा तथ्य जाँच गर्दै एक्सपायरी डेट होइन परीक्षण गर्नुपर्ने मिति सिलिन्डरमा हुने प्रष्ट पारेको छ।

हेर्नुस् फ्याक्टलीको तथ्य जाँच।

त्यसैगरी भारतकै एबीपी न्युजले यो विषयमा गरेको तथ्य जाँचको भिडियो इन्डियन आयल नामको युट्युब च्यानलमा अपलोड गरिएको छ।

तथ्य जाँच

दावी : ग्यास सिलिन्डरमा रहेको अङ्ग्रेजी अल्फाबेट र दुई अङ्कले एक्सपायरी डेट (म्याद गुज्रने मिति) जनाउँछ।

दावीकर्ता : पूर्व सचिव भीम उपाध्याय, अनलाइनखबर र सामाजिक सञ्जाल प्रयोगकर्ताहरु।

तथ्य : भ्रामक सूचना। ग्यास सिलिन्डरमा हुने अक्षर र अङ्कले मिति जनाउने सही भए पनि  इन्डियन आयलका अनुसार त्यो एक्सपायरी डेट नभएर टेस्ट ड्यु डेट अर्थात् परीक्षण गर्नुपर्ने मिति हो। यसअघि पनि यो विषयमा अरु देशमा तथ्य जाँच भइसकेका छन्। यद्यपि ग्यास सिलिन्डर प्रयोग गर्दा मिति जुनसुकै भए पनि चुहावट लगायतका विषयमा भने प्रयोगकर्ता सतर्क हुनु जरुरी छ। नेपाल फ्याक्टचेकबाट  

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस