काठमाडौं, ०३ असार । औषधि उद्योगमा व्यवसाय विस्तारको रणनीतिसहित ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले रोयल फर्मास्युटिकल्स प्रालिलाई प्राप्ति (अक्वायर) गर्ने निर्णय गरेको छ। दुवै कम्पनीबीच यससम्बन्धी प्रक्रिया अघि बढाउन समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ।
ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले रोयल फर्मास्युटिकल्स प्रालिलाई आफ्नो स्वामित्वमा ल्याउने प्रक्रिया सुरु गरेको छ। कम्पनीको सञ्चालक समितिको असार २ गते बसेको बैठकले रोयल फर्मास्युटिकल्सलाई प्राप्ति गर्ने प्रस्ताव स्वीकृत गरेसँगै अधिग्रहण प्रक्रिया अघि बढाइएको हो।
कम्पनीले यसबारे नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई समेत औपचारिक जानकारी गराएको छ। निर्णयअनुसार अब दुवै पक्षबीच प्राप्तिसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरी आवश्यक कानुनी तथा प्राविधिक प्रक्रिया अगाडि बढाइनेछ।
ओम मेगाश्रीका अनुसार अधिग्रहण सम्पन्न भएपछि कम्पनीको उत्पादन क्षमता बढ्ने, औषधि बजारमा पहुँच विस्तार हुने तथा व्यावसायिक प्रतिस्पर्धात्मक क्षमता थप मजबुत बन्ने अपेक्षा गरिएको छ। साथै, सञ्चालन दक्षता अभिवृद्धि गर्दै व्यवसायलाई दीर्घकालीन रूपमा विस्तार गर्न समेत सहयोग पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।
नेपालको औषधि उद्योगमा पछिल्लो समय व्यवसाय विस्तार र बजार सुदृढीकरणका लागि कम्पनीहरूबीच मर्जर तथा प्राप्तिका गतिविधि बढ्दै गएका छन्। ओम मेगाश्री र रोयल फर्मास्युटिकल्सबीचको यो प्रस्तावित प्राप्तिलाई पनि औषधि क्षेत्रमा रणनीतिक व्यावसायिक विस्तारको कदमका रूपमा हेरिएको छ।
















