×
Lagani
Lagani Shiksha gif
१० महिनामा आयात-निर्यात दुवै बढ्दा व्यापार घाटा १४.९ प्रतिशतले वृद्धि



चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दश महिनामा नेपालको वैदेशिक व्यापारमा उल्लेख्य वृद्धि भए पनि व्यापार घाटा अझै बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार वैशाख मसान्तसम्म कुल वस्तु निर्यात १४.२ प्रतिशतले वृद्धि भई २ खर्ब ४८ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ ।

Lagani Shiksha gif

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा वस्तु निर्यात ७२.७ प्रतिशतले बढेको थियो । गन्तव्यका आधारमा भारततर्फको निर्यात १६.१ प्रतिशत तथा अन्य मुलुकतर्फको निर्यात ९.५ प्रतिशतले बढेको छ । तर चीनतर्फको निर्यात भने ४१.७ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा भटमासको तेल, अलैँची, पाम तेल, चाउचाउ तथा जुटजन्य सामग्रीको निर्यात बढेको छ । यद्यपि जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैँचा तथा हस्तकलाका सामग्रीको निर्यातमा कमी आएको छ ।

त्यसैगरी, समीक्षा अवधिमा कुल वस्तु आयात १४.८ प्रतिशतले वृद्धि भई १६ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा आयात १३.१ प्रतिशतले बढेको थियो ।

मुलुकगत आधारमा भारतबाट हुने आयात १०.६ प्रतिशत, चीनबाट २१.४ प्रतिशत तथा अन्य मुलुकबाट २०.७ प्रतिशतले बढेको छ । पेट्रोलियम पदार्थ, रासायनिक मल, चाँदी, यातायातका उपकरण, सवारीसाधन तथा तिनका जगेडा पुर्जा, भटमासको कच्चा तेललगायत वस्तुको आयात बढेको छ । तर हट रोल्ड सिट इन क्वाइल, खाने तेल, लसुन, दाल, एमएस तार, छड, बार तथा क्वाइलको आयात घटेको छ ।

व्यापार घाटा १४ खर्ब रुपैयाँ नाघ्यो

निर्यातको तुलनामा आयात उच्च रहँदा व्यापार घाटा पनि बढेको छ । चालु आर्थिक वर्षको दश महिनामा कुल वस्तु व्यापार घाटा १४.९ प्रतिशतले वृद्धि भई १४ खर्ब ४३ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा ६.७ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात १४.७ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १४.८ प्रतिशतभन्दा केही कम हो । प्रतिवेदनअनुसार समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी १ खर्ब ६० अर्ब ८० करोड रुपैयाँ बराबरका वस्तु आयात गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १ खर्ब ५२ अर्ब ४८ करोड रुपैयाँ बराबरको थियो ।

निर्यात र आयातको संरचनामा परिवर्तन

बृहत् आर्थिक वर्गीकरणअनुसार समीक्षा अवधिको कुल निर्यातमध्ये अन्तिम उपभोग्य वस्तुको हिस्सा ६९.४ प्रतिशत रहेको छ। मध्यवर्ती वस्तुको हिस्सा २९.८ प्रतिशत तथा पुँजीगत वस्तुको हिस्सा ०.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपात क्रमशः ६६.५ प्रतिशत, ३२.५ प्रतिशत र १ प्रतिशत रहेका थिए ।

त्यसैगरी, कुल आयातमध्ये अन्तिम उपभोग्य वस्तुको हिस्सा ३८.३ प्रतिशत, मध्यवर्ती वस्तुको हिस्सा ५२.४ प्रतिशत तथा पुँजीगत वस्तुको हिस्सा ९.३ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यी अनुपात क्रमशः ३९.३ प्रतिशत, ५१.८ प्रतिशत र ८.९ प्रतिशत रहेका थिए ।

आयात मूल्यमा उच्च वृद्धि

नेपाल राष्ट्र बैंकका अनुसार २०८३ वैशाख महिनामा वार्षिक बिन्दुगत आधारमा भन्सार तथ्यांकमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क ३.१ प्रतिशतले बढेको छ। त्यस्तै आयात मूल्य सूचकाङ्कमा २४ प्रतिशतको उल्लेख्य वृद्धि भएको छ । आयात मूल्यको तुलनामा निर्यात मूल्य कम दरमा बढेका कारण २०८३ वैशाख महिनामा व्यापारको सर्त (टर्म्स अफ ट्रेड) १६.९ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसले निर्यातको तुलनामा आयात महँगो बन्दै गएको संकेत गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस