काठमाडौं, २६ जेठ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहअन्तर्गत रहेको ९ हजार ६५४ कित्ता सेयर बिक्रीका लागि खुला गरेको छ। केही संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर हालका संस्थापक सेयरधनीलाई खरिदको प्राथमिक अवसर प्रदान गर्दै बिक्री प्रक्रियामा ल्याइएको हो।
कम्पनीले जारी गरेको सूचनाअनुसार प्रचलित व्यवस्था बमोजिम संस्थापक सेयर बिक्री गर्नुअघि विद्यमान संस्थापक सेयरधनीलाई नै खरिदको पहिलो अधिकार दिइएको छ। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ।
आवेदनका साथ आवश्यक कागजात संलग्न गरी आफूले खरिद गर्न चाहेको सेयर संख्यासहित संस्थाको केन्द्रीय कार्यालय गैँडाकोटमा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।
संस्थाले तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट कुनै आवेदन नपरेमा बाँकी सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्न आवश्यक प्रक्रिया अगाडि बढाइने जनाएको छ।
लघुवित्तले सेयर खरिदमा रुचि भएका संस्थापक सेयरधनीलाई निर्धारित समयभित्र आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।















