


भारतमा मजदुरी गरेर घर फर्किरहेका नेपालीबाट भारतीय सुरक्षाकर्मीले १३ लाखभन्दा बढी भारु रकम बरामद गरेको छ ।
नयाँ वर्ष बिशु मनाउन घर फर्किरहेकाबाट दुई दिनमा उक्त बरामद गरेको हो । शुक्रबार हरियाणाबाट घर फर्किरहेका बझाङ दुर्गाथलीका धर्मराज मुरबाट एसएसबीले २ लाख १३ हजार भारु बरामद गरेर भारतीय कस्टमलाई बुझाएको प्रहरीले जनाएको छ । हरियाणामा लामो समयदेखि ढावा चलाउने काम गरिरहेका उनी यसपटक ढाबा बिक्री गरेर घर फर्किरहेका हुन् । ढाबा बिक्री गरेको रकमसहित एसएसबीले बरामद गरेको हो ।
भारतबाट नेपालतर्फ २५ हजारभन्दा बढी भारु ल्याउन लैजान प्रतिबन्ध लगाएको छ । ५ सय र २ हजार भारुको नोट पनि नेपालमा प्रतिबन्ध छ । एसएसबीले सीमामा स्रोत नखुलेको भन्दै घर फर्किने नेपालीहरूको ज्याला मजदुरी गरेर कमाएको रकम बरामद गरिरहेको छ । भारतको विभिन्न ठाउँमा रोजगारी गर्नेले अहिले पनि घर फर्किने सँगै एकमुष्ट रूपमा रकम पठाउने गरेका छन् । जसका कारण एकै व्यक्तिसँग ठूलो रकम देखिने गरेको हो ।
एसएसबीले बिहीबार करिब ११ लाख बढी बरामद गरेको कञ्चनपुरका एसपी कमल थापाले बताए । एसएसबीले सुर्खेतका लोकबहादुर चन्दबाट ८ लाख, कालीकोटका पदम कामीबाट २ लाख र टेकबहादुर कामीबाट १ लाख २७ हजार भारु बरामद गरेको छ ।
सुर्खेतका चन्दको रकम बरामदको जानकारी प्राप्त भए पनि उनी प्रहरीको सम्पर्कमा नआएको एसपी थापाले बताए । उनका अनुसार पदम र टेकबहादुरले पैसाको स्रोत जुटाउने काम गरिरहेका छन् । उनीहरूले उक्त रकमको स्रोत पेस गरेपछि फिर्ता पाउने छन् । उनका अनुसार बैंक स्टेटमेन्ट, तलब बुझेको प्रमाण वा फोन पेको प्रमाणका आधारमा उक्त रकम फिर्ता हुन सक्छ । ‘दुवै जनाका ठेकेदार सम्पर्कमा आएका छन्, ठेकेदारले पैसा दिएको प्रमाण पठाएपछि पैसा पाइन्छ,’ एसपी थापाले भने, ‘एसएसबीसँग यस विषयमा समन्वय भइरहेको छ ।’
भारतबाट २५ हजारभन्दा बढी रकम बोकेर नेपाल प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो पटक सन् २०१४ मा नेपाल भ्रमणमा आउँदा नेपाली कामदारलाई २५ हजार भारुसम्म ल्याउन लैजान दिने घोषणा गरेका थिए । त्यसअघि २५ हजारभन्दा कम भए पनि हजार र पाँच सयका नोट प्रतिबन्धित थियो ।
भारतबाट घर फर्किंदा ल्याउन पाउने रकमको सीमाबारे भने नेपाली कामदार बेखबर छन् ।जानकारी अभावकै कारण एक जना घर फर्किंदा गाउँटोलका धेरैको रकम बोकेर आउने गर्छन् । जसका कारण बाटोमै लुटिने तथा हराउने घटनासमेत भइरहन्छन् । ‘नाकामा भारु ओसारपसारमा एसएसबीले केही दिनदेखि कडाइ गरेको छ,’ एसपी थापाले भने, ‘२५ हजारभन्दा बढी बोक्न नपाइने त पहिलेदेखि नै थियो, तर अहिले आएर कडाइ भएको हो ।’ कान्तिपुर दैनिक बाट।