


आइतबार बिहान भएको विमान दुर्घटनामा परी ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा.डा. भरतबहादुर खत्रीका अनुसार एक बच्चासहित ६४ जनाको शव अस्पतालमा रहेका छन । अस्पताल परिसरमा मृतकका आफान्त र नातेदारहरुको भीड लागेको छ ।
तीन जनाको शव फेला परे पनि निकाल्न कठिन भइरहेको एसपी केसीले जानकारी दिए। प्रहरीले क्रेनको प्रयोग गरेर पनि शव निकाल्न खोजेको थियो। तर उक्त क्रेनबाट पनि शव निकाल्न सम्भव नभएको केसीले बताए।
‘खोंचमा तीन जनाको शव देखिएको छ। तर निकाल्न सकिएको छैन,’ उनले भने, ‘क्रेन पनि प्रयोग गर्यौं। तर त्यसबाट पनि सम्भव भएन।’ जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार निशान्त आचार्य, संगीता शाही, लक्ष्मी पौडेल, सुशील श्रेष्ठ, र सदारत अलिमियाको सनाखत भएको छ ।
आइतबार बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको यति एयरको जहाज ११ बजे दुर्घटना भएको हो। जहाज पोखरा-१५ स्थित सेती नदीको खोंचमा दुर्घटनामा परेको हो।