


चर्चित लोकगायक पशुपति शर्मा यती एयरलाइन्सको विमान दुर्घटनामा पर्नबाट जोगिएका छन् ।
उनले आज पोखरा आउने कार्यक्रम केही दिन अगाडि सरेकोले आफु दुर्घटनामा पर्नबाट जोगिएको बताए। ‘खासमा म यहि विमानमा आज पोखरा आउने तयारीमा थिए । तर, मेरा अरु पनि कामहरु भएकाले गर्दा म दुई दिन अघि नै बुद्ध एयरबाट पोखरा आएँ’, शर्माले भने ‘काठमाडौं फर्कन फ्लाइट कुरिरहेको थिएँ । विमान दुर्घटनाको खबर आउँदा नमज्जा लाग्यो । रुन मन लाग्यो । अहिले त भाग्यले बाँचियो । भोलि पनि हिँडिरहनुपर्छ । कसले देखेको छ र ?’ उनले थपे ।
देशको बिभिन्न ठाउँमा मेला महोत्सव चलिरहेकोले अहिले त्यसैको सिलसिलामा आफु उपत्यका बाहिर रहेको शर्माले सुनाए । शर्मा पोखरबाट अहिले स्याङजातर्फ लागेका छन् ।
आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यति एयर प्रालिको एनवाईटी–६९१, ९ एन–एएनसी विमान १० बजेर ५० मिनेटमा दुर्घटना भएको थियो । विमानमा ६८ जना यात्रुसहित ४ जना चालक दलका सदस्य थिए । जसमध्य ६८ जनाको शव फेला परेको छ ।